काठमाडौँ । नेपाल राष्ट्र बैंकले हिमालय बैंक सहित तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाही पर्नेमा प्रभु बैंक, हिमालय बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।
एनआइसी एसिया बैंकले आफ्ना सञ्चालकका परिवार तथा उनीहरू सम्बद्ध संस्थालाई निर्धारित दर भन्दा धेरै ब्याज प्रदान गरेको, मुद्दती निक्षेप खाता खोल्दा पुरानो मिति राखेर ब्याज धेरै दिएको, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी र पुँजी कोष तथा जोखिमभार सम्बन्धी लगायत निर्देशन पालना नगरेको भनी राष्ट्र बैंकले कारबाही गरेको छ ।
राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ (ग) अनुरूप लिखित आदेश जारी गरेको हो। यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ र राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत कार्य नगर्न तथा सुधार कार्य योजना बनाउन पनि बैंकलाई निर्देशन दिएको छ।
साथै, राष्ट्र बैंकले प्रभु बैंकलाई क्यापिटल एडुकेसी फ्रेमर्वक २०१५ को व्यवस्थाअनुसार प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाएको र केही कर्जामा जोखिम भार प्रदान गर्दा उक्त फ्रेमवर्क बाहिर गएर जोखिम भारित सम्पत्ति देखाएको भन्दै एक पटकलाई सचेत गराएको छ।
हिमालयन बैंकलाई भने राष्ट्र बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरूको पालना नगरेको भनी एक पटकलाई सचेत गराएको छ। राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई कारबाही गरेको हो भने हिमालयन र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई एक पटकका लागि सचेत गराएको उल्लेख गरेको छ ।







