काठमाडौं । चालु आर्थिक वर्षको पौष मसान्तसम्मको अवधिमा नागरिक लगानी कोषले विभिन्न क्षेत्रमा २ खर्ब ६२ अर्ब बढीको लगानी गरेको छ ।
कोषका सूचना अधिकारीले उद्धव सिलवालले आर्थिक भ्वाईसलाई दिएको जानकारीका अनुसार कोषले हालसम्ममा २ खर्ब ६२ अर्ब ५ करोड ६१ लख १४ हजार बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ९.३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कोषले २ खर्ब ३७ अर्ब ४७ करोड ५२ लाख २१ हजार रुपैयाँ मात्र लगानी गरेको थियो ।
उक्त तथ्यांकअनुसार कोषले सरकारी ऋणपत्रमा करिब ५० करोड रुपैयाँ लगानी गरेको छ । यस्तै मुद्दती निक्षेपमा १ खर्व ३८ अर्ब १५ करोड ५९ लाख ४९ हजार रुपैयाँ, समय कालिन कर्जामा २५ अर्ब ८० करोड १६ लाख ८६ हजार र सहायक कम्पनीमा २ अर्ब ७२ करोड ४६ लाख ७५ हजार रुपैयाँ लगानी गरेको छ ।
यस्तै सहभागी सापटी तथा आवास कर्जामा ५४ अर्ब ९४ करोड ७० लाख २१ हजार, सङ्गठित संस्थाको शेयर तथा धितो पत्रमा ३० अर्ब ८९ करोड ७८ लाख ९० हजार र सेयर बजारमा ९ अर्ब २ करोड ८८ लाख ९३ हजार बराबरको रकम लगानी गरेको कोषले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।
नागरिक पेन्सन योजनामा जोडिनुका यस्ता छन् फाइदा, को-को हुन् सक्छन् आवद्ध ?
यसैबिच लगानी कोषको खुद कोष मौज्दात २ खर्ब ७३ अर्ब ७२ करोड ७ लाख ५१ हजार रुपैयाँ बरावर पुगेको छ ।
कोषले वाणिज्य बैंकहरूको मुद्दती निक्षेप, सहभागी र संस्थागत कर्जा, सरकारी ऋणपत्र, सङ्गठित संस्थाको सेयर धितो पत्र र बण्डलगायतमा लगानी गर्ने गरेको कोषका सूचना अधिकारी सिलवालको भनाई छ ।
यसका अतिरिक्त कोषले पुँजी बजारतर्फ दोस्रो बजारमा पनि नियमित रूपमा लगानी गरिरहेको उनले आर्थिक भ्वाइसलाई बताए । लगानीको तथ्याङ्क हेर्दा कोषको लगानी अझै पनि निक्षेपतर्फ बढी देखिएकोमा यसलाई पनि विविधीकरण गर्ने तयारी पनि कोषले गरिरहेको उनले बताए ।
यस्तै कोषले साना तथा मझौला स्तरका बचतकर्ताहरूको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यका साथ कर्मचारी बचत वृद्धि लगायतका योजना सञ्चालन गरेको छ । भने कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ । यसका अतिरिक्त कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोषलगायतका योजनाहरू सञ्चालन गरिरहेको छ ।