काठमाडौँ । साताको अन्तिम कारोबारका दिन सेयर बजारमा फेरि गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले सुधार देखिएको शेयर बजारमा आज पुनः गिरावट आएको हो ।
बिहीबार नेप्से सूचक ७.२६ विन्दुले घटेर २६७८.४७ अंकमा आएर अडिएको छ। आज ७ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बजारमा गिरावट आउँदा ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन्। भने ३ वटा समूहका सूचक सकारात्मक बनेका छन् ।
यति बेला आम लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा बसिरहेको देखिन्छ । बजारले निश्चित दिशा तय गर्न सकेको छैन। केही दिनयता नेप्से साइडवेज (स्थिर) देखिएको छ । यसैकारण खरिद गर्ने मुडमा रहेका लगानीकर्ता पनि फेरि एक पटक ‘पर्ख र हेर’ को अवस्थामा बसेको देखिन्छ ।
सामान्यतः ब्याजदर सस्तो भएपछि बजारमा रौनकता आउने विश्वास गरिन्छ । ब्याजदर सस्तो हुँदा बैंकबाट कर्जा लिएर सेयरमा लगानी गर्नेहरू बढ्ने गर्छन् । त्यसो त तथ्यांकले समेत सेयर कर्जा लिनेहरू बढिरहेको देखाएको छ । यद्यपि, यसको सकारात्मक प्रभाव सेयर बजारमा भने देखिइसकेको अवस्था भने छैन ।
आज फाइनान्स सेक्टरको सबैभन्दा धेरै शेयर कारोबार बढेको छ। साथै, लगानी ०.५२ र माइक्रो फाइनान्स ०.१७ प्रतिशत बढेको छ भने बैंकिङ ०.२३, विकास बैंक ०.९५, होटल तथा पर्यटन ०.५८, हाइड्रोपावर ०.९०, जीवन बीमा ०.१४, उत्पादन ०.४७, निर्जीवन बीमा ०.८७, अन्य ०.१० र व्यापार समूह ०.०१ प्रतिशत घटेको छ ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढेको छ । बाराही हाइड्रोपावरको मूल्य ६.७७ प्रतिशत, गार्डियन माइक्रो लाइफको मूल्य प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसा पुगेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत्, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ ।