काठमाडौँ । राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ। राष्ट्र बैंकले ब्याज आम्दानीको लागि आफ्नो विभिन्न कोषमा रहेको चार अर्ब ७९ लाख रुपैयाँ संस्थागत निक्षेपको रूपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूमा राख्न प्रस्ताव आह्वान गरेको हो ।

रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले यही फागुन २० गते मङ्गलवारसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रूपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यसरी राखिने रकमको अवधि तीन सय ६६ दिन अर्थात् मार्च १२, २०२५ देखि १२ मार्च २०२६ सम्म रहेको छ ।

बैंकका अनुसार लगानीको लागि छुट्टाइएको कुल रकममध्येमा वाणिज्य बैंकहरूको लागि तीन अर्ब २० करोड ६५ लाख, विकास बैंकहरूको लागि ६० करोड ११ लाख र फाइनान्स कम्पनीहरूको लागि २० करोड तीन लाख रुपैयाँ छुट्टाइएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ । त्यसका साथै, तोकिएको न्यूनतम पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा ९एनपीए० कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।