काठमाडौँ । साताको दोस्रो कारोबारका दिन समेत सेयर बजारमा गिरावट आएको छ । लगानीकर्ताको मनोबल दैनिक रूपमा कमजोर बन्दै जाँदा बजार अस्थिर बनेको छ । आज फन्डामेन्टल रूपमा बलिया देखिएका कम्पनीहरूको सेयर मूल्यसमेत प्रभावित बनेको छ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अकंले घटेर २७०४.७० बिन्दुमा कायम भएको छ। नेप्से सूचकसँगै दैनिक कारोबार रकम पनि न्यून देखिएको छ । सोमबार ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४० करोडको शेयर कारोबार भएको छ ।
यस दिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशतले शेयर मूल्य घटेको छ। नेप्से निरन्तर घटेर पुनः २७ सयको मनोवैज्ञानिक विन्दु नजिक आएको छ ।
चैतका लागि पनि अधिकांश बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । केहीले घटाएका पनि छन् । यस आधारमा ब्याजदर निकै तल्लो विन्दुमा छ । प्रणालीमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकले निरन्तर जसो बजारबाट पैसा तानिरहेको छ । यी कुराहरूले सेयर बजारमा सकारात्मक प्रभाव पार्न सक्ने अनुमान भए पनि बजारको दृश्य त्यस अनुरूप नबन्दा लगानीकर्तामा निराशा छाएको छ ।







