काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ ।

रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले चैत १५ गते बिहिबारसम्म निक्षेप लिन चाहेको रकम र दिन चाहेको ब्याज तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यो रकम तीन सय ६६ दिनका लागि राख्न सक्नेछन् ।

लगानीको उक्त रकम मध्येमा वाणिज्य बैंकहरुको लागि तीन अर्ब ६२ करोड ५५ लाख, बिकास बैंकहरुको ६७ करोड ९७ लाख र फाइनान्स कम्पनीहरुको लागि २२ करोड ६५ लाख रुपैयाँ तोकिएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ ।

यीबाहेक तोकिएको न्यूनतम कुल पुँजीकोष (बफर सहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको आठ प्रतिशत भन्दा कम भएको, खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

निक्षेप राख्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको लगायतका शर्तहरु राष्ट्र बैंकले तोकेको छ ।