काठमाडौँ। १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको भन्दा २६ दशमलव ७५ प्रतिशतले बढी हो। गत आवमा कम्पनीहरुले १६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रथम बीमा शुल्क वृद्धिको आधारमा सन नेपाल लाइफ इन्सारेन्स अग्रस्थानमा देखिएको छ । उक्त कम्पनीले प्रथम बीमा शुल्क ६४.८६ प्रतिशतको बृद्धि गरेको छ । गत आर्थिक वर्षको ८ महिनाको अवधिमा कम्पनीले ३७ करोड ७२ लाख रुपैयाँ भन्दा बढी प्रथम बीमा शुल्क संकलन गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ६२ करोड १८ लाख रुपैयाँ बढीको प्रिमियम संकलन गरेको छ।
त्यस्तै प्रथम बीमा शुल्क संकलन वृद्धिको आधारमा प्रभू महालक्ष्मी इन्सोरेन्स दोस्रो स्थानमा रहेको छ। यस अवधिमा कम्पनीले प्रथम बीमा शुल्क ५०.४७ प्रतिशत बढाएको हो। त्यस्तै, सोही अवधिमा क्रमशःनेपाल लाइफ इन्सोरेन्सको ३७.७९ प्रतिशत र सूर्यज्योति लाइफ इन्सोरेन्सले ३०.०३ प्रतिशतले प्रथम बीमा शुल्क बढाएका छन् ।








