काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ६०० रुपैयाँले महँगिएको हो।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँ कायम गरिएको छ। बिहीबार सुनको मूल्य २ लाख ३७ हजार ८०० रुपैयाँ प्रतितोला थियो।
त्यस्तै, तेजावी सुनको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ। शुक्रबार तेजावी सुन प्रतितोला २ लाख ३७ हजार ७५० रुपैयाँ पुगेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला ३ हजार १० रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर ३ हजार २० रुपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको कमजोरी र मध्यपूर्वीय तनावजस्ता कारणले सुनको मूल्यमा उतारचढाव जारी रहेको व्यवसायीहरूको भनाइ छ ।








