काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको पुँजी बजारमा एक नयाँ वित्तीय उपकरण, ‘अविमोच्य असंचिति अग्राधिकार शेयर’  निष्काशन गर्न बैंक वित्तीय संस्थालाई अनुमति प्रदान गरेको छ।

यो शेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो। बोर्डका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक वित्तीय संस्थालाई मात्र यस्तो उपकरण निष्काशनको अनुमति दिइएको छ।

परिपत्र विधिबाट निष्काशन हुने यो शेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउनेछन्। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई भने यसमा लगानी गर्न वञ्चित गरिएको छ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार यो शेयर संस्थापक समूहको साधारण शेयरमा परिवर्तन हुने सम्भावना रहन्छ। यसलाई ‘असंचिति’ प्रकृतिको अग्राधिकार शेयर भनिनुको कारण यो हो कि कम्पनीले वितरण योग्य मुनाफा आर्जन गरेको वर्षमात्र लाभांश वितरण गर्दछ। नोक्सानीमा रहेको वर्ष वा सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न सकिँदैन।

सन् २००७ देखि २००९ सम्मको विश्वव्यापी वित्तीय संकटको अनुभवपश्चात् वित्तीय संस्थाको पुँजीगत संरचनालाई सदृढ बनाउन अन्तर्राष्ट्रिय पुँजी बजारमा प्रयोग हुँदै आएको यस्तो उपकरण नेपालमा भने पहिलोपटक निष्काशन हुन लागेको हो।

यो उपकरण दोस्रो बजारमा सूचिकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्नेछन्। कम्पनी विघटनको समयमा यस शेयरको भुक्तानी साधारण शेयरभन्दा अगाडि र कम्पनीको साहू, निक्षेपकर्ता र पूरक पूँजीभन्दा पछाडि रहनेछ।

बोर्डले यो उपकरणले बैंक तथा वित्तीय संस्थालाई दबाब परेको समयमा पुँजीगत संरचना सुदृढ बनाउने र वित्तीय संकटको जोखिमलाई न्यूनीकरण गरी वित्तीय प्रणालीलाई स्थायित्व प्रदान गर्न सहज पुग्ने विश्वास लिएको छ।