काठमाडौँ। विश्वभर सूचना प्रविधिको विकास तीब्र गतिमा भइरहेको छ। मोबाइल, इन्टरनेट, अनलाइन सेवा र डिजिटल उपकरणले हाम्रो दैनिक जीवनलाई सहज बनाएको छ। तर, सूचना प्रविधिको व्यापक प्रयोगसँगै साइबर अपराध, डाटा चोरी, ह्याकिङ र अन्य डिजिटल जोखिम पनि बढ्दै गएका छन्।

नेपालमा पनि सरकारी, निजी र व्यक्तिगत स्तरसम्म डिजिटल सेवा बढ्दै गइरहेको छ। यसको कारणले साइबर अपराध र जोखिम नियन्त्रणमा चुनौतीहरू थप भएका छन्। यसै सन्दर्भमा आर्थिक भ्वाइसले बढ्दो सूचना प्रविधि जोखिमको सामना कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा साइबर ब्युरोका प्रबक्ता दिपक अवस्थीसँग कुराकानी गरेको छ।

अन्तरवार्ता हेर्नुहोस् :

प्रवक्ता अवस्थीले साइबर अपराधका घटनाको सिकार आम सर्वसाधारणदेखि लिएर उच्च पदस्थ अधिकारीसम्म भएको जिकिर गरे । नेपालमा साइबर सूचना प्रविधि सम्बन्धी जोेखिम न्युनीकरण गर्न एक्लो निकायको प्रयासले सम्भव नरहेको उनको भनाइ छ ।

उनले साइबर अपराध सम्बन्धी एकीकृत कानुनको अभाव रहनुृ, विभिन्न निकाय बीचको समन्वय कमजोर रहनु, प्राविधिक चुनौती , हदम्यादका चुनौती लगायतका कारणले अनुसन्धानमा चुनौती रहेकोप्रति सरकार र अन्य सरोकारवालाहरुको प्रयाप्त ध्यान केन्द्रीत नभएकोप्रति दुख व्यक्त गरे ।

सूचना प्रविधिको व्यापक विस्तार भइरहेको वर्तमान समयमा साइबर सचेतनालाई पाठ्यक्रममै समावेश गर्नुपर्ने बेला आइसकेको र सरकारले पनि साइबर सुरक्षाका विषयहरुलाई प्राथमिकता दिनुपर्नेमा प्रवक्ता अवस्थीले जोड दिए।