काठमाडौं । पछिल्ला दिनहरूमा WhatsApp अकाउन्ट ह्याक गरेर पैसा माग्ने तथा ठगी गर्ने घटनाहरू बढ्दै गएपछि नेपाल प्रहरीको साइबर ब्युरोले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
ब्युरोका अनुसार साइबर अपराधीहरूले व्यक्तिको ह्वाट्सएप नियन्त्रणमा लिएर उनीहरूका साथीभाइ र आफन्तलाई सन्देश पठाउने गरेका छन् । सन्देशमा आफू समस्यामा परेको बहाना बनाउँदै रकम माग्ने, वा बैंकिङ एपमा समस्या देखिएको भन्दै क्यूआर कोड पठाएर ठगी गर्ने प्रवृत्ति देखिएको छ ।
ब्युरोका प्रवक्ता दीपकराज अवस्थीद्वारा जारी सूचनामा यस्ता सन्देश आएमा तुरुन्त विश्वास नगर्न र सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्न भनिएको छ ।
साथै, आफ्नो ह्वाट्सएप सुरक्षित राख्न Two-Step Verification सक्रिय गर्न, ओटीपी कसैसँग पनि नबाँड्न, शंकास्पद लिंकमा क्लिक नगर्न तथा अपरिचित स्रोतबाट आएका लिंक वा फाइल नखोल्न र डाउनलोड नगर्न समेत सुझाव दिइएको छ ।
आर्थिक भ्वाईससँगको कुराकानीमा प्रवक्ता अवस्थीले सूचना प्रविधिको जोखिम बढेकाले सर्तकर्ता अपनाउन आग्रह गरेका छन्।
उनी भन्छन्, “सूचना प्रविधिको प्रयोग बढेसँगै जोखिम पनि बढिरहेको छ, त्यसैले साइबर सचेतना अहिलेको आवश्यकता मात्र नभएर अनिवार्य विषय बन्दै गएको छ।”
साइबर जोखिममा मानिसहरुका बैंक खाता पनि परिरहेकाले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि जोखिम न्यूनीकरणमा साथ दिन साइबर ब्युरोको अनुरोध छ।








