काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कं.लि. को अठारौँ वार्षिक साधारण सभा २०८२ फागुन ११ गते बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सम्पन्न भएको छ। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपक कुमार श्रेष्ठले पेश गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको सञ्चित नाफाबाट कम्पनीको चुक्ता पूँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार ५ प्रतिशतले हुन आउने २५ करोड ५७ हजार ९ सय ६० रुपैयाँ ३५ पैसा बराबरको बोनस सेयर र ५.५२६३ प्रतिशत (लाभांश करसमेत) ले हुन आउने २७ करोड ६३ लाख ७९ हजार ८ सय ५० रुपैयाँ ९१ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरिएको हो।
त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफलसहित पारित गरिएको छ। साधारण सभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत भएको छ।
यस्तै, सभाले निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र सम्बन्धित निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ।







