काठमाडौँ। इरान सरकारले विदेशमा बसोबास गर्ने सरकार विरोधी नागरिकहरूलाई उनीहरूको सम्पत्ति जफत हुन सक्ने चेतावनी दिएको छ। यस सम्बन्धमा इरानी महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको बयानलाई सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)ले सार्वजनिक गरेको छ।

“विदेशमा रहेका ती इरानीहरू जसले शत्रु राष्ट्रसँग सहकार्य गर्छन्, समर्थन गर्छन् वा तिनीहरूको गतिविधिमा सहयोग पुर्‍याउँछन्, उनीहरूको सम्पत्ति कानुनअनुसार जफत गरिनेछ।” बयानमा उल्लेख छ

इरानी अधिकारीहरूले चेतावनी विशेष गरी इजरायल र अन्य शत्रु राष्ट्रसँग सहकार्य गर्ने व्यक्तिहरूको लागि लक्षित भएको बताएका छन्। यस्तो कदम राष्ट्रिय सुरक्षा र देशको हितविरुद्ध हुने गतिविधि रोक्नका लागि लागू गरिने बताइएको छ।

यो निर्णय सन् २०२५ को अक्टोबरमा पारित जासुसी र शत्रु राष्ट्रसँगको सहकार्यविरुद्ध कडा सजाय बढाउने कानुनको आधारमा गरिएको हो। कानुनको धारा १ अनुसार, इजरायल वा अन्य शत्रु राष्ट्रसँग सहयोग गर्नेहरूलाई कडा कानुनी कारबाही गरिने व्यवस्था छ।