काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईस्थित वित्तीय क्षेत्र आसपास एक ड्रोन खसेको घटना सार्वजनिक भएको छ । बिहीबार दुबईको अल बदाआ क्षेत्रमा उक्त ड्रोन जमिनमा खसेको बताइएको छ ।

स्थानीय अधिकारीहरूको भनाइ उद्धृत गर्दै एक अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएअनुसार उक्त ड्रोन शेख जायद सडकमा रहेको एक भवनको बाहिरी भागमा ठोक्किएको थियो । शेख जायद सडक दुबईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र नजिक पर्ने प्रमुख मार्गमध्ये एक मानिन्छ ।

अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक संरचनाहरूलाई लक्षित गर्दै इरानले आक्रमणको चेतावनी दिएपछि उक्त क्षेत्रमा यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि बुधबार केही अमेरिकी बैंकिङ संस्था, परामर्श सेवा प्रदान गर्ने कम्पनीहरू तथा अन्य केही प्रतिष्ठानहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आफ्ना कार्यालयहरू बन्द गर्न र कर्मचारीहरूलाई बाहिर ननिस्कन निर्देशन दिएका थिए ।

मध्यपूर्वमा युद्ध चर्किएपछि खाडी क्षेत्रभरि इरानसँग सम्बन्धित आक्रमणहरूको प्रभाव देखिएको छ । विभिन्न घटनामा हालसम्म २४ जनाको मृत्यु भएको जानकारी दिइएको छ । मृतकमध्ये सात जना अमेरिकी सैनिक र ११ जना सर्वसाधारण नागरिक रहेका छन् ।