काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस गर्नुभएको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको सो विवरण नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

उपसचिव विष्णुप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेभसाइट (opmcm.gov.np) मा हेर्न सकिनेछ ।

भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान छ ।

को सँग कति सुनचाँदी छ हेर्नुहोस्

आज सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री शाहले पत्नी सविनाको पैतृक सम्पत्तिका रूपमा सुनचाँदी १८० तोला देखाएका छन् ।

मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको साथमा ७८७ तोला सुन मौज्दात छ ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको साथमा १८० तोला सुन रहेको छ । जुन उनले रुसमा व्यापार गर्ने क्रममा आर्जन गरेको उल्लेख गरेकी छिन् ।

गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन हुँदा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव ८० तोला सुन रहेको विवरणमा उल्लेख छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको विवरणमा उल्लेख छ । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहेतासंग ३०–३० तोला सुन रहेको पाइएको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला सुन मौज्दात रहेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग पनि १८ तोला सुन रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री विराज भक्त श्रेष्ठ १५ तोला सुन हुँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग पनि १५ तोला सुन रहेको देखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलसँग ११ तोला सुन रहेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासंग करिब सात तोला सुन रहेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।