कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली मूलका उद्यमी भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेह शर्मा (खनाल) सहभागी भएका छन् । अन्तर्राष्ट्रिय घरपालुवा कुकुरका लागि बन्ने छुर्पी ब्रान्ड ‘डक्सी च्यू’का संस्थापक दम्पत्तीले रेड कार्पेटमार्फत जनावरप्रतिको माया, हेरचाह र जिम्मेवार पालनपोषणको सन्देश दिएका छन् ।

मोरङको उर्लाबारी निवासी खनाल दम्पत्तीले आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’लाई प्रेम, वफादारी र आत्मीयताको प्रतीकका रूपमा आफ्ना पोशाकमा कढ़ाइ गरेर प्रस्तुत गरेका थिए । उनीहरूको उपस्थितिलाई घरपालुवा जनावरको कल्याण र पोषणसम्बन्धी विश्वव्यापी बहससँग जोडेर हेरिएको छ ।

भूपेन्द्र खनालले आफूले लगाएको पहिरन भारतीय शैलीको मनका गाला, नेपाली भादगाउँले टोपी र पेरिसका डिजाइनर स्टीफन कार्लोसको कालो बुटको संयोजन रहेको बताए । उनका अनुसार यसले मिश्रित संस्कृति, मौलिक पहिचान र आफ्नो यात्राको कथा प्रस्तुत गर्ने प्रयास गरेको हो ।

एक दशकअघि सामाजिक सञ्जाल विश्लेषण कम्पनी ‘सिम्प्लिफाई ३६०’ स्थापना गरेका खनाल पछिल्लो समय हिमाली छुर्पी उद्योगमा सक्रिय छन् । उनले सन् २०१५ मा स्नेह शर्मासँग मिलेर ‘डग्सी च्यू’ स्थापना गरेका थिए । कम्पनीले नेपाल र भारतका हिमाली भेगको दूधबाट तयार हुने प्राकृतिक छुर्पीलाई कुकुरका लागि स्वास्थ्यकर ‘हिमालयन याक च्यू’का रूपमा विश्वबजारमा पु¥याइरहेको छ ।

कम्पनीका अनुसार हाल ‘डग्सी च्यू’ ३० भन्दा बढी देशमा विस्तार भइसकेको छ । वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्ने उक्त ब्रान्डले घरपालुवा जनावरका लागि प्राकृतिक र स्वस्थकर पोषणको अवधारणा अघि बढाइरहेको जनाएको छ ।

सह–संस्थापक तथा सीएमओ स्नेह शर्माले कान्सजस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु आफूहरूका लागि विशेष अवसर भएको बताइन् । उनका अनुसार घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणसम्बन्धी विश्वव्यापी चेतना बढ्दै गइरहेको अवस्थामा हिमालयमा जन्मिएको ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनिनु गौरवको विषय हो ।

यसअघि वर्तमान प्रधानमन्त्री बालेन शाह पनि सन् २०२४ मा कान्स रेड कार्पेटमा सहभागी भएका थिए ।