काठमाडौं। हालसालै आईपीओ जारी गरेका जीवन बीमा कम्पनीहरुले न्यूनतम २५ प्रतिशत भन्दा धेरैको लाभांश वितरण गर्नु पर्ने भएको छ । प्रिमियम थपेर आईपीओ बिक्री गरेका रिलायबल नेपाल, आइएमई लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई २५ प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्नु पर्ने देखिएको हो ।
नियामक निकाय बीमा प्रधिकरणले २०७८ चैतमा जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमालाई साढे २ अर्ब चुक्ता पूँजी पर्याउन निर्देशन दिएको थियो । सोही कारणले धेरै बीमा कम्पनीहरुले मर्जरको सहारा लिएर पूँजी बढाउन तर्फ लागे । तर सो समयसम्म आईपीओ बिक्री नगरेका जीवन बीमा कम्पनीहरुले भने प्रिमियम सहित साधारण शेयर बिक्री गर्ने विकल्प रोजे ।
प्राधिकरणले गत असारसम्म पूँजी बढाउन बीमा कम्पनीहरुलाई मिति तोकेको थियो । सो समयसम्म अधिकांशले चुक्ता पूँजी पुर्याउन मर्जरको सहारा लिएका थिए । तर प्रिमियममा आईपीओ बिक्री गरेका कम्पनीहरुले उक्त रकम शेयरधनीलाई लाभांशको रुपमा वितरण गर्न सक्छन् । त्यसैले यी कम्पनीहरुले लगानीकर्तालाई बम्पर लाभांश वितरण गर्ने सम्भावना धेरै देखिएको हो ।
यिनीहरुले अब बीमा प्राधिकरण तोके अनुसार ५ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी पुर्याउन अझै पूँजी थप गर्नु पर्ने देखिएको छ । आईपीओ जारी गरेर पनि पूँजी नपुग्ने भएपछि यिनीहरुले अब बोनस शेयरवितरण गरेर पूँजी बढाउन सक्ने जानकारहरु बताउँछन् ।
आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई १ करोड २० लाख कित्ता आईपीओ बिक्री गरेको थियो । यसले १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर शेयर बिक्री गरेको हो ।
यस इन्स्योरेन्सले शेयरधनीलाई न्यूनतम २५ प्रतिशत बोनस शेयर वितरण गरेपछि मात्र चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हाल यसको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियमबाट १ अर्ब ५६ करोड रुपैयाँ रकम संकलन गरेको छ ।
उक्त रकमबाट मात्रै कम्पनीले लगानीकर्तालाई ३९.०२ प्रतिशत लाभांश वितरण गर्न सक्छ । त्यसैले यो बीमा कम्पनीले लगानीकर्तालाई निकै राम्रो प्रतिफल दिन सक्ने सम्भावना धेरै छ । यसले ३९ प्रतिशत लाभांश केबल प्रिमियममा संकलन गरेको रकमबाट दिन सक्छ । कम्पनीले कमाएको नाफा समेत जोडने हो भने प्रतिफल दर अझै धेरै आउछ ।
गत वर्षको अन्तिमा त्रैमाससम्म यस आइएमई लाइफ इन्स्योरेन्सले २४ करोड ८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एक वर्षको अवधिमा जीवन बीमाकोषको आकार र खुद बीमाशुल्क आर्जन पनि बढेको छ । जीवन बीमाकोषको आकार ४३.२५% ले बढेर ६ अर्ब ७५ करोड १५ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
खुद बीमाशुल्क आर्जन ४ अर्ब १ करोड ६५ लाख १३ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०२ पैसा र प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ०५ पैसा छ । जगेडा कोषमा २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ रहेको छ । यसले जगेडा कोषमा भएको रकमबाट शेयरधनीलाई ६७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छ । यदि यस इन्स्युरेन्सले प्रिमियम र जगेडा कोषमा भएको रकम लगानीकर्तालाई वितरण गर्छ भने यसको लाभांश क्षमता १०० प्रतिशत भन्दा धेरै हुन आउछ ।
रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी गरेर १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले सो रकमबाट मात्रै ४४.७५ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।
बीमा प्राधिकरणले तोके अनुसार ५ अर्ब बराबरको चुक्ता पूँजी पर्याउन कम्पनीले थप २५ प्रतिशत बोनस शेयर वितरण गर्नु पर्ने हुन्छ । तर प्रिमियममा भएको रकमले ४४.७५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ । हाल कम्पनीको चुक्त पूँजी ४ अर्ब रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा यस कम्पनीको खुद बीमाशुल्क ३ अर्ब ४७ करोड ८९ लाख रुपैयाँमा रहेको छ । यस्तै कम्पनीको खुद नाफा ५७.२८ प्रतिशतले बढेर ४३ करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा २७ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको जगेडा कोषमा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ जम्मा रहेको छ । उक्त कोषबाट यसले लगानीकर्तालाई ३६ प्रतिशत लाभांश दिन सक्छ । यसको जीवन बीमा कोषमा ६ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १५ करोड ५ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा र नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ ।
सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २४४ रुपैयाँका दरले आईपीओ बिक्री गरेर कुल १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ प्रिमियममा संकलन गरेको छ । आईपीओ बिक्री पश्चात यसको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
बीमा प्रधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन यसलाई थप ३३.३३ प्रतिशत पूँजी आवश्यक पर्छ । यस बीमा कम्पनीले प्रिमियममा संकलन गरेको रकमबाट ४१ प्रतिशतसम्म बोनस शेयर वितरण गर्न सक्छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २० करोड ११ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यसले १२ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।कम्पनीको जगेडा कोषमा १ अर्ब ९ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषबाट कम्पनीको २९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ । जीवन बीमाकोषको आकार ९ अर्ब ४१ करोड २१ लाख रुपैयाँ छ । असारसम्म यसले खुद बीमाशुल्क ५ अर्ब ३५ करोड बराबर संकलन गरेको छ ।
सन नेपाल लाइफ
सन नेपाल लाइफ इन्स्योरेन्सले २३९ रुपैयाँ प्रतिकित्ताका दरले सर्वसाधारणलाई आईपीओ बिक्री गरेको हो । यसले प्रिमियमबाट मात्रै १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ संकलन गरेको छ ।
आईपीओ बिक्री गरेपछि यसको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । ५ अर्ब पूँजी पुर्याउन यसलाई थप ५६ प्रतिशत पूँजी आवश्यक पर्छ । यसले प्रिमियमबाट संकलन गरेको रकमले ३९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ ।
सन नेपालले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म ५६ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले २१ करोड ४६ लाख नाफा कमाएको थियो । सनले ३ अर्ब २५ करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यसको जगेडा कोषमा ९२ करोड ९० लाख रुपैयाँ रहेको छ । जसबाट यसले २९ प्रतिशत लाभांश वितरण गर्न सक्छ । यसको जीवन बीमा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ छ ।
प्रिमियममा रहेको रकमबाट यिनीहरुको लाभांश क्षमता तय गरिएको हो । यिनीहरुले कमाएको नाफा पनि जोडले हो भने लाभांश वितरण क्षमता यो भन्दा धेरै आउछ ।
(नोटः जीवन बिमा कम्पनीहरुले जगेडा कोषमा भएको सबै रकम लाभांश वितरण गर्छन् भन्ने पनि हुँदैन । माथिको समाचारमा यिनीहरुको लाभांश क्षमता मात्र लेखिएको छ।)







