काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले बल्खुमा आफ्ना कार्यकर्तामाथि दुर्गा प्रसाईँ समूहले आक्रमण गरेकोमा प्रतिकार गर्ने धम्की दिएका छन् ।

तीनकुनेमा भइरहेको जुलुसलाई सम्बोधन गर्दै बस्नेतले भने,‘बल्खुमा हाम्रो जुलुसमा आएको ५ सय जनाको समूहमाथि दुर्गा प्रसाइँको समूहले डिस्टर्ब गरेको थाहा पायौँ ।

प्रहरीले संयमता पूर्वक काम गरोस् । होइन भने हाम्रो यो जुलुस बल्खु जान पर्‍यो भने कमिला किचिए जस्तो हुनेछ ।’बस्नेत र प्रसाईँ समूहले राजधानीमा आज विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् ।साथै  व्यवसायी प्रसाईँ समूहको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।

प्रसाईँले कार्यक्रममा सम्बोधन गरेपश्चात् त्यहाँ प्रहरीसित झडप भएको थियो । त्यसपछि स्थिति सामान्य बनाउन भन्दै प्रहरीले अश्रुग्याँस प्रयोग गरेको हो ।

प्रसाईँका समर्थक त्यहाँबाट माइतीघर जाने भन्दै कालीमाटीतर्फ प्रवेश गरेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीसँग प्रसाईँले चाबी मागेका थिए ।