काठमाडौँ। सुस्ताउँदै गएको घरजग्गा कारोबारमा चालु आर्थिक वर्षको वैशाख महिनामा भने चमक देखिएको छ । वैशाख महिनामा मात्रै ५२ हजार ४२३ वटा लिखत पारित भएको छ। यो आर्थिक वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार हो ।

गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यो ५.३० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०्८१ को वैशाखमा ४९ हजार ७८३ लिखत पारित भएको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा मात्रै लिखत पारित भएको थियो ।

साथै, भदौ महिनामा ३२ हजार ७९८ घरजग्गाको कारोबार हुँदा असोजमा ३० हजार ५२७ वटा कारोबार भएको थियो । त्यस्तै, कात्तिकमा ३३ हजार ५१४, मंसिरमा ४३ हजार ३७९, पुसमा ४८ हजार १५६, माघमा ४६ हजार ६९, फागुनमा ४६ हजार ६१ र चैतमा ४९ हजार ८३२ वटा लिखत पास भएको तथ्यांमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०८०/८१ को वैशाखमा ४९ हजार ७८३ र आर्थिक वर्ष २०७९/८० को वैशाखमा ४२ हजार ४६१ लिखत पारित भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको वैशाखमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोतबाटै भएको छ । इनरुवा मालपोतले यस अवधिमा २ हजार ३५ वटा लिखत पारित गरेको छ ।

त्यस्तै, जनकपुरले १ हजार ७६०, भद्रपुरले १७ हजार ११, बेलबारीले १ हजार ७०१, राजविराजले १ हजार ५१६, धनगढीले १ हजार ३३६ र मलंगवाले १ हजार १८३ लिखत पारित गरेका छन् । यता, सिरहाले १ हजार १६९, तुलसीपुरले १ हजार ७७, कलैयाले १ हजार २४ र कोहलपुरले १ हजार १९ वटा लिखत पारित गरेको भूमि व्यवस्थापन अभिलेखमा उल्लेख छ ।

अघिल्लो महिना चैतमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सर्वाधिक बढी १ हजार ८९६ लिखत पारित भएको थियो भने झापाको भद्रपुरबाट १ हजार ८०४, बेलबारी मालपोतबाट १ हजार ७१४, जनकपुरधामबाट १ हजार ५३८ र सप्तरीको राजविराज मालपोतबाट १ हजार ४०९ लिखत पारित भएको थियो ।

यता, काठमाडौँ उपत्यकाभित्र भने वैशाखमा समेत भक्तपुर मालपोत नै सर्वाधिक घरजग्गा किनबेच गराउनेमा देखिएको छ। भक्तपुरले यस अवधिमा ८८४, लगनखेलले ८६१, कलंकीले ६७२, चाबहिलले ४८४, साँखुले ४३७, मनमैजुले २६२, डिल्लीबजारले २०२ र टोखाले १७० लिखत पारित गरेको विभागले जनाएको छ ।

घरजग्गाको लिखत पारितबापत वैशाख महिनामा कुल ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आवको सोही अवधिको भन्दा १७.५६ प्रतिशतले बढी हो। गत आवको वैशाख महिनामा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

वैशाखमा लगनखेल मालपोत कार्यालयले सबैभन्दा धेरै राजस्व संकलन गरेको पाइएको छ । वैशाखमा लगनखेलले ३८ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्दा दोस्रो स्थानमा रहेको डिल्लीबजारले ३५ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, चाबहिलले २८ करोड ८३ लाख, कलंकीले २८ करोड र भक्तपुरले २७ करोड २९ लाख रुपैयाँ राजस्व उठाएका छन् ।

त्यसैगरी, कास्कीले १८ करोड ७९ लाख, चितवनले १३ करोड ९१ लाख, धनगढीले १२ करोड १३ लाख, विराटनगरले ११ करोड ९९ लाख, इनरुवाले ११ करोड ६५ लाख, काभ्रेले ११ करोड ३३ लाख र टोखाले १० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।