काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन परेको छ। कम्पनीले वैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि एकैसाथ शेयर निष्कासन गरेको हो।

कुल ८६ करोड रुपैयाँ जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता साधारण सेयर सार्वजनिक गर्न कम्पनीले अनुमति प्राप्त गरेको छ। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।

सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको हिस्साबाट १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ। श्रम स्वीकृति लिएका नेपालीहरूले सी–आस्वा प्रणाली तथा ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको वित्तीय अवस्थालाई ध्यानमा राख्दै केयर रेटिङ्स नेपालले ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिमको संकेत गर्छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा एनआईएमबि एस क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरिएको सेयरको बिक्री भने छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्म रहनेछ। यी दुवै समूहका लागि प्रक्रिया पूरा भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउने योजना बनाएको छ।