काठमाण्डौ । बजारमा अधिक तरलता भएसँगै नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको हो ।
यससँगै राष्ट्र बैंकले लगातार तीनदिन बजारबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले बजारबाट गत माघ १६ गते २० अर्ब र १७ गते ३० अर्ब रुपैयाँ झिकेको थियो ।
राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत माघ १८ गते दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन ३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।







