काठमाडौं । हवाई सेवा प्रदाय संस्थाहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्ष पदमा मनोज कार्की नियुक्त भएका छन् ।
बिहीबार भएको सङ्घको २३औँ वार्षिक साधारण सभाले अध्यक्षमा कार्कीलाई चयन गरेको हो ।
त्यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्रीएयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएको सङ्घले जनाएको छ । सदस्यमा उमेश पनेरु, बालकृष्ण श्रेष्ठ र उमेश आचार्य चयन भएका छन् ।
उक्त वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन सेवा प्रदायक जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् । मुलुकको पर्यटन क्षेत्रको विकासमा हवाई क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै हवाई उद्योगको विकास निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको मन्त्री किराँतीले उल्लेख गरेका छन् ।
उनले भने,“पर्यटनको रक्तसञ्चार नै हवाई क्षेत्र हो, हवाई उडानबिना पर्यटनको कल्पना गर्न सकिँदैन, त्यसैले हवाई उद्योगमा सरकार र निजी क्षेत्रको ठुलो लगानी छ, एयरलाइन्सले नाफामुखी मात्रै होइन, सेवामुखी भएर दूर दराजका जनतालाई सेवा दिनुपर्छ ।”
सचिव डा.दीपक काफ्लेले हवाई क्षेत्रको सुधारका लागि सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का महानिर्देशक प्रदीप अधिकारीले सङ्घले गर्ने कार्यमा नियामकको साथ सहयोग रहने जनाउँदै हवाई क्षेत्रको सुदृढीकरणमा ध्यान दिन सेवा प्रदायकलाई आग्रह गरे ।







