काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालय चालु आर्थिक वर्ष २०८०-८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो। तर तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै सरकारी लक्ष्यभन्दा करिब आधा बराबरको मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो।

चालु आर्थिक वर्षको ६ देखि ८ महिनाको तथ्यांकलाई आधार मानेर र बाँकी अवधिको अनुमानका आधारमा आर्थिक वृद्धिको प्रक्षेपण गरिएको कार्यालयले भनाई छ ।  कार्यालयका अनुसार अर्थतन्त्र उपभोक्ता मूल्यको आधारमा ३.८७ र आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढ्ने छ। चालु आर्थिक वर्षमा कृषि क्षेत्रको ३.०५ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशतले हुनेछ।

आर्थिक शिथिलताका कारण गत आर्थिक वर्षमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएकोमा चालु आर्थिक वर्षमा सुधार देखिने आकलन छ। यद्यपि, वार्षिक लक्ष्यभन्दा भने निकै कम हो।