काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले कृषिमा पर्याप्त बजेट विनियोजन नगरेको बताएका छन् ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी राणाले ‘ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको भनिए नि बजेटमा भने भनिएको र लेखिएकोमा मेल नखाएको’ बताइन् ।
‘कृषि मन्त्रालयको बजेट २ खर्ब घटेको छ । तर, कृषिमा लगानी दशक घोषणा गरिएको छ । कृषि करिडोर योजना आएको छ । तर, त्यसलाई सपोर्ट गर्ने कार्यक्रम छैन’ मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले भनिन् ।
सांसद राणाले कृषि क्षेत्रमा केन्द्रित रहेर अर्थमन्त्री वर्षमान पुनलाई विभिन्न ९ वटा सुझाव दिएकी छन् ।
पहिलो : सांसद राणाका अनुसार कृषिमा टेक्निकल जनशक्तिको वृद्धि गर्नुपर्ने हुन्छ । यसका लागि सरकारले ओएनएम समेत गरेको छ । उक्त ओएनएमलाई अगाडि बढाउन सांसद रणाले सुझाएकी छन् ।
दोस्रो : दूध कृषक र उखु किसानले समयमै भुक्तानी नपाएको गुनासो हरेक वर्षजसो आउने गरेको भन्दै सांसद राणाले यसका लागि बैंकिङ्क सिस्टम मार्फत भुक्तानीको प्रबन्ध मिलाउन सुझाएकी छन् ।
तेस्रो : मार्केट मेकानिजम ख्याल गर्न पनि अर्थमन्त्रीलाई उनको सुझाव छ । चालु आर्थिक वर्षमा आलुमा भ्याट लगाएको कारण नेपालमा आलुको उत्पादन बढेको पाइएको उनले बताइन् ।
‘‘नेपालमा जम्मा ७ प्रतिशत आयात हुने । त्यसले नेपाली आयुको भाउ तय गर्ने गरेको रहेछ । यति सस्तो गरी आउने रहेछ। यसलाई ख्याल गरेर भ्याट लगाउँदा आलुको उत्पादन बढेको रहेछ । अब कर घटाउँदा फेरि आलु उत्पादन घट्न सक्छ’ उनले भनिन् ।
चौथो : सांसद राणाले कुन महिनामा कति वस्तु उपभोग हुन्छ त्यस आधारमा नीति अवलम्बन गर्न उनको सुझाव छ । उनले भनिन्,‘यसमा सरकारले अध्ययन गरोस् । त्यस आधारमा सरकारले आयात गर्ने कि नगर्ने तय गरोस् । यो माछा, फलफूल आदिमा गर्न आवश्यक छ।’
पाँचौँ : नेपालमा १० लाख हेक्टर क्षेत्रफल जमिन बाँझो रहेको तथ्याङ्क सांसद राणाले सुनाएकी छन् । ‘यो जमिनलाई उपयोग गर्न सकेका छैनौँ । यसमा बजेट हाल्न सक्यौँ भने ५ देखि ७ लाख भाइबहिनीहरू नेपालमै बस्न सक्थे होला । यसका लागि आएकै बजेटबाट समेत मिलाउन सकिन्छ’ सांसद राणाको सुझाव छ ।
छैटौँ : सांसद राणाले नेपालमा भोकमरीको समस्या रहेको विश्वव्यापी भोकमरीको इन्डेक्सले देखाएको बताएकी छन् । दिगो विकास लक्ष्यलाई समेत असर गर्ने भएकाले यसमा ख्याल गर्न उनको सुझाव छ ।
सातौं : जलवायु परिवर्तनले एकदमै असर पारेको छ । विपत्ति निम्त्याएको छ । यसका लागि विशेष ध्यान नदिएको जस्तो देखियो ।
आठौं : नेपालको बोर्डरमा चुहावट रहेकोतर्फ ख्याल गर्न अर्थमन्त्री पुनलाई सांसद राणाको सुझाव छ । उनले भनिन्, ‘बोर्डरमा एकदमै धेरै चुहावट छ । यसका लागि काम गर्नुपर्नेछ ।’
नवौं : सांसद रणाले वितरणमुखी बजेटलाई पनि सही टार्गेट गर्न सक्नेतर्फ ख्याल गर्न अर्थमन्त्री पुनलाई सुझाएकी छन् ।आन्तरिक ऋण बढाएर लिने विषयका सन्दर्भमा अन्यले समेत प्रश्न उठाइरहेको स्मरण गर्दै उनले बजेटको लक्ष्य भेट्टाउने गरी अगाडि बढ्न सुझाइन् ।
‘यो (आन्तरिक ऋण) कसरी तिर्ने भन्ने अन्योल छ । यसको लागि विचार गर्नका लागि अनुरोध गर्न चाहन्छु’ उनले भनिन् ।






