काठमाडौँ। ३ दिनभित्र सबै संस्थागत विद्यालाई छात्रवृत्ति विवरण पेस गर्न काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ। महानगरले तोकिएको समयभित्र विवरण नबुझाएका विद्यालयलाई यही वर्षदेखि स्कुल बन्द सूचीमा राख्ने चेतावनीसमेत दिएको छ।
‘विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालन नरही बन्द विद्यालयको रूपमा अभिलेखीकरण गरिनेछ’,महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै भनेको छ, ‘यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न र नगराउनुहुन साथै गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिएको छ ।
महानगरको अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन–२०७५,शिक्षा नियमावली २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ ले महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कुल विद्यार्थीको कम्तीमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ।
महानगरपालिकाले सोही सूचनामार्फत नै महानगरभित्र सञ्चालित संस्थागत विद्यालय छात्रवृत्ति दिने विद्यार्थी सङ्ख्या समावेश गरेर सार्वजनिक गरेको छ । चालु शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयबाट कक्षा १० सम्मसम्मका विद्यार्थी सङ्ख्या र उपलब्ध गराइएको छात्रवृत्ति विवरण प्राप्त भएको महानगरले जनाएको छ ।
जसअनुसार महानगरभित्रका सबै संस्थागत विद्यालयमा विद्यार्थीको सङ्ख्या १ लाख ४९ हजार ९५० जना अध्ययनरत छन् । यसमध्येका १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेको सूचना मार्फत जानकारी गराएको छ ।







