काठमाडौं । वैशाख महिनामा मूल्य वृद्धि दरमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ।

त्यस्तै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २३.११ प्रतिशत छ ।

दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत रहेको छ। त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ ।

त्यस्तै घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।