काठमाडौँ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र इरानसँगको द्वन्द्व चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। सन् २०२२ पछि पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलरभन्दा माथि पुगेको हो।
अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण तथा तेल भण्डारण स्थललाई लक्षित बनाएपछि विश्वभर ऊर्जा आपूर्तिबारे चिन्ता बढेको छ। सोमबार बिहान एसियाली बजार खुलेसँगै ब्रेन्ट कच्चा तेलको मूल्य करिब १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ डलर पुगेको जनाइएको छ।
त्यसैगरी नाइमेक्स लाइट स्वीट कच्चा तेलको मूल्य पनि १७ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारल १०६.७७ डलर पुगेको छ। बजार विश्लेषकहरूले यो साता मूल्य १०० डलरसम्म पुग्न सक्ने अनुमान गरे पनि एसियाली कारोबार सुरु भएको केही समयमै अपेक्षाभन्दा बढी वृद्धि देखिएको बताइएको छ।
तेलको मूल्य वृद्धिको नकारात्मक असर सेयर बजारमा पनि देखिएको छ। सोमबार एसिया–प्रशान्त क्षेत्रका सेयर बजारहरूमा भारी गिरावट आयो। जापानको निक्केई २२५ इन्चडेक्स ५ प्रतिशतभन्दा बढीले घट्यो भने अष्ट्रेलियाको एएसएक्स २०० मा ३.५ प्रतिशतको गिरावट दर्ता भएको छ।
विश्वव्यापी अर्थतन्त्रमा थप मुद्रास्फीति बढ्ने खतराले लगानीकर्ताहरू अन्यौलमा परेका छन्।







