काठमाडौं। कात्तिक महिनामा पछिल्लो २५ वर्षयताकै न्यून विन्दुमा झरेको मूल्यवृद्धि दर मंसिरमा फेरि बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति दर १.६३ प्रतिशत पुगेको छ। अघिल्लो महिना कात्तिकमा यो दर १.११ प्रतिशत मात्र थियो। एकै महिनामा मूल्यवृद्धि दर ०.५२ प्रतिशत विन्दुले बढेसँगै करिब एक वर्षदेखि निरन्तर ओरालो लाग्दै आएको मुद्रास्फीतिको प्रवृत्तिमा ब्रेक लागेको देखिएको छ।
देशको समग्र अर्थतन्त्रमा मूल्यवृद्धि दर घट्दो क्रममा रहेको थियो। कात्तिक महिनामा देखिएको मुद्रास्फीति दर २०५७/५८ आर्थिक वर्षयताकै सबैभन्दा न्यून स्तरमा पुगेको थियो, जसलाई अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा लिइएको थियो। तर मंसिरमा आएर खाद्य तथा पेय पदार्थ समूहमा मूल्य घट्ने गति अपेक्षाकृत सुस्त हुनु र गैरखाद्य तथा सेवा समूहमा मूल्यवृद्धि देखिनुले समग्र उपभोक्ता मुद्रास्फीति दरलाई पुनः माथि तानेको राष्ट्र बैंकको विश्लेषण छ।
मुद्रास्फीतिको क्रमिक घट्दो यात्रा
गत वर्षको मंसिरमा ६.०५ प्रतिशत रहेको मूल्यवृद्धि दर त्यसपछिका महिनामा निरन्तर घट्दै आएको थियो। पुसमा ५.४१ प्रतिशत, माघमा ४.१६ प्रतिशत, फागुनमा ३.७५ प्रतिशत र चैतमा ३.२९ प्रतिशतमा झरेको मुद्रास्फीति चालु आर्थिक वर्षको सुरुवातपछि अझै न्यून हुँदै गएको देखिन्छ। वैशाखमा २.७७ प्रतिशत, जेठमा २.७२ प्रतिशत, असारमा २.२० प्रतिशत, साउनमा १.८७ प्रतिशत, भदौमा १.६८ प्रतिशत र असोजमा १.४७ प्रतिशतमा सीमित रहँदै कात्तिकमा सबैभन्दा न्यून १.११ प्रतिशतमा पुगेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला तीन वर्षयता मूल्यवृद्धि दर तुलनात्मक रूपमा न्यून दायरामै रहँदै आएको छ। यस अवधिमा देखिएको मुद्रास्फीति नियन्त्रणलाई समष्टिगत आर्थिक स्थायित्वका दृष्टिले सकारात्मक मानिए पनि मंसिरमा देखिएको वृद्धिले अर्थतन्त्रको आन्तरिक संरचनामा केही परिवर्तनको संकेत देखाएको छ ।
मंसिरमा मुद्रास्फीति बढ्नुको कारण
राष्ट्र बैंकको अनुसार मंसिरमा खाद्य तथा पेय पदार्थ समूहमा मूल्य घट्ने गति सुस्त हुनु र गैरखाद्य तथा सेवा समूहमा मूल्यवृद्धि देखिनुले समग्र मुद्रास्फीतिमा वृद्धि भएको हो। खाद्य समूहमा पहिलेजस्तो तीव्र मूल्य गिरावट कायम नरहनु र शिक्षा, स्वास्थ्य, यातायात, घरभाडा तथा अन्य सेवामा लागत बढ्नुले उपभोक्ता मूल्य सूचकांकलाई माथि तानेको देखिन्छ।
नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर चिरञ्जीवी नेपालका अनुसार पछिल्लो समय देखिएको माग–आपूर्ति सन्तुलन, सेवा क्षेत्रको लागत संरचना र आन्तरिक बजारको गतिशीलतामा आएको बताएका छन् ।
न्यून मुद्रास्फीतिको अर्थतन्त्रमा प्रभाव
मूल्यवृद्धि दर घट्नु उपभोक्ताका लागि राहतको विषय भएको पूर्वगर्भनर नेपालको भनाई छ । उनले भने ‘दैनिक उपभोग्य वस्तु तथा सेवामा खर्च कम हुँदा सर्वसाधारणको क्रयशक्ति जोगिन्छ। विशेषगरी न्यून तथा मध्यम आय भएका वर्गका लागि खाद्यान्न, इन्धन, लत्ताकपडा र सेवाको मूल्य स्थिर रहनु सकारात्मक मानिन्छ। खर्चको चाप घट्दा घरायसी बजेट सन्तुलनमा आउँछ र बचत गर्ने सम्भावना बढ्छ।”
तर दीर्घकालसम्म अत्यधिक न्यून मुद्रास्फीति कायम रहनु अर्थतन्त्रका लागि जोखिमपूर्ण हुन सक्ने उनको आकलन रहेको छ। मुद्रास्फीति धेरै कम रहँदा बजारमा माग कमजोर भएको संकेत मानिन्छ। उपभोक्ताले खर्चभन्दा बचतलाई प्राथमिकता दिन थालेमा उद्योग, व्यापार र सेवा क्षेत्रमा गतिविधि सुस्त हुन सक्छ।
बैंकिङ प्रणाली र लगानीमा असर
मुद्रास्फीति न्यून हुँदा ब्याजदर घटाउने दबाब बढ्छ। ब्याजदर धेरै तल झर्दा बैंक तथा वित्तीय संस्थाको आम्दानीमा असर पर्न सक्छ भने ऋण प्रवाह पनि अपेक्षाअनुसार विस्तार नहुन सक्छ। अर्कोतर्फ, यदि ब्याजदर मुद्रास्फीति दरभन्दा उच्च रह्यो भने वास्तविक ब्याजदर महँगो भई निजी क्षेत्रको लगानी निरुत्साहित हुने जोखिम पनि रहन्छ।
यस सन्दर्भमा मंसिरमा देखिएको मुद्रास्फीतिको सामान्य वृद्धिलाई अर्थतन्त्रमा माग विस्तार हुन थालेको प्रारम्भिक संकेतका रूपमा समेत हेर्न सकिन्छ। अत्यधिक न्यून मूल्यवृद्धि निर्यातमुखी उद्योगका लागि पनि चुनौतीपूर्ण हुन सक्छ। आन्तरिक माग कमजोर हुँदा उत्पादन विस्तार कठिन हुन्छ। उत्पादन र कारोबार सुस्त हुँदा सरकारको कर संकलन प्रभावित हुने सम्भावना रहन्छ।
मंसिरमा देखिएको मुद्रास्फीतिको वृद्धिले दीर्घकालीन प्रवृत्तिको परिवर्तन हो वा अस्थायी समायोजन मात्र हो भन्ने कुरा आगामी महिनाका तथ्यांकले स्पष्ट गर्ने अर्थविश्लेषक नेपालको भनाई छ । तर पछिल्लो एक वर्षयता देखिएको अत्यन्त न्यून मुद्रास्फीतिपछि आएको यो उकालोलाई अर्थतन्त्रमा माग–आधारित गतिविधि बिस्तारै फर्किन थालेको संकेतका रूपमा पनि लिन सकिने उनको धारणा छ। नीति निर्माता र केन्द्रीय बैंकका लागि यसले मूल्य स्थायित्वसँगै आर्थिक गतिशीलता सन्तुलनमा राख्ने चुनौतीलाई पुनः स्मरण गराएको छ।







