काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौँको भृकुटीमण्डपमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री तामाङले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न मन्त्रालय प्रतिबद्धताका साथ लागेको उल्लेख गरेका छन् ।

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएको स्मरण गर्दै सन् २०२४ मा कम्तीमा १६ लाख भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पर्यटन मन्त्री तामाङको भनाई छ । पर्यटन क्षेत्रमा पहिले लगाउँदै आइएको हवाई टिकटमा भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको जनाउँदै उनले पर्यटन प्रवर्द्धनका लागि विद्यमान समस्या बजेट पास हुनुअघिनै समाधान गरिने प्रस्ट  पारेका हुन् ।

पर्यटन मन्त्री तामाङले पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न, यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न करहरू हटाउने कुरामा सरकारले पहल गरिरहेको भन्दै यसबारे यथाशीघ्र सम्बोधन गरिने मन्त्री तामाङको भनाई छ। विश्व पर्यटन बजारमा सूचीमा नेपाल घुम्नै पर्ने गन्तव्य भएकाले पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार निर्माणलगायत काम सरकारले सुरु गरिसकेको जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी छन् । मेलामा रु एक करोडभन्दा बढी खर्च हुने आयोजक समिट इभेन्ट्स मार्केट्सले जनाएको छ ।

समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवं मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने उनको भनाई छ ।

मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालले अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसर सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । भृकुटीमण्डपमा आयोजित मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहेको छ ।