काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
आज आइतबारका दिन सार्वजनिक गरेको एक वर्षको तथ्यांकस अनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस्तै आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । यस्तै शोधनान्तर स्थिति रु ५०२ अर्ब ४९ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको तथ्याकंमा उल्लेख छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बैंकले जनाएको छ ।
यस्तै विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ । यस्तै असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु ६४ खर्ब ५२ अर्ब रहेको छ ।
Current Macroeconomic and Financial Situation -Nepali (Based on Annual data of 2080.81)






