काठमाडौँ । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिक स्तरबाट आलोचना भएपछि विमान कम्पनीहरूले आगामी तीन दिनसम्म महँगो मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन्।
वायुसेवा सञ्चालक सङ्घको आज बसेको बैठकले तीन दिनसम्म महँगो मूल्य कायम नगर्ने निर्णय गरेको जानकारी दिएको छ। सोमबार, मङ्गलवार र बुधवारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको सङ्घका अध्यक्ष मनोज कार्कीले बताएका छन् ।
कार्कीले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्यान्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताएका छन्। यसो भएको अवस्थामा हवाई भाडा दर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ। हवाई भाडा दर बढी लिएको चर्को आलोचना भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि विपद्को अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरूलाई आग्रह गरेको जनाएको छ।
हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको क्यानको भनाई छ । हाल काठमाडौँ आउने मुख्य सडक मार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन्। यस्तो अवस्थामा यातायातको एक मात्र विकल्प भएको हवाई उडानको भाडा दर अस्वाभाविक रूपमा बढाइएको भन्दै नागरिक स्तरबाट आलोचना भएको हो।
हवाई भाडा महँगो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए।







