काठमाण्डौ। गत सेप्टेम्बर महिनामा नेपालमा ९६ हजार ३०५ पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अगस्ट महिनाको तुलनामा बढी हो ।
अगस्ट महिनामा नेपालमा ७२ हजार ९१९ पर्यटक नेपाल आएका थिए । सेप्टेम्बर महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या विगत ४ वर्षको वर्षकै उच्च हो ।
सन् २०२४ को सेप्टेम्बर महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएको छन् । यो महिना २२ हजार ९८४ भारतीय पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । यो संख्या सन् २०२३ को सोही अवधिको तुलनामा १९ प्रतिशतले कम हो । सन् २०२३ को सेप्टेम्बर महिनामा २८ हजार ६९४ भारतीय पर्यटक नेपाल आएका थिए ।
यस्तै यो महिना नेपाल आउनेमा अमेरिकी पर्यटक दोस्रो स्थानमा रहेका छन् । अमेरिकाबाट सेप्टेम्बर महिनामा १० हजार ८४ पर्यटक नेपाल आएका छन् । यस्तै चीनबाट ८ हजार ४२, अस्ट्रेलिया ५ हजार ३८, बेलायत ४ हजार ४९३ र बंगलादेश ४ हजार १०३ पर्यटक नेपाल आएका छन् । यसैगरी जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरिया २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक आएका छन्।







