काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विदेशिएका नेपालीको सुरक्षाका लागि सरकारले गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बाल्दै उनले विदेशमा रहेका नेपालीलाई विपद पर्दा सरकार सहयोगी बन्न सक्नुपर्ने बताएका हुन् ।
त्यस्तै सांसद पौडेलले विदेशिएका नेपालीको सुरक्षाका लागि एयरपोर्टबाटै ट्र्याकिङ गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरे । उनले भने ‘कहाँ गएको हो ? पुग्यो कि पुगेन ? सम्झौता अनुसार काम पायो पाएन ? बिरामी भयो कि ? कुनै दुर्घटना वा विपद्मा पर्यो कि ? एयरपोर्टबाटै ट्र्याकिङ गर्ने व्यवस्था गर्नुपर्यो ।’
उनले परराष्ट्र मन्त्रालय, दूतावास र श्रम सबैतिर डेस्क स्थापना गरी उनीहरूको सुरक्षा क्षेत्रमा काम गर्नुपर्ने बताए ।
एक साताअघि मलेसियामा यमलाल परियारको मृत्यु भएको र अहिले उनको परिवारले लास नेपाल ल्याउन सबैतिर याचना गरिरहँदा सरकारले नसुनेको बताउँदै उनले यस्ता गम्भीर विषयमा सरकारले प्रभावकारिता बढाउनुपर्ने बताए ।