काठमाडौं । यसबर्षको चाडपर्वमा पाल्पा र जुम्लाबाट मात्रै करीब २४ करोड रुपैँया बराबरको खसीबोका खरिदबिक्री भएका छन् ।
पाल्पा जिल्लाबाट मात्रै यसवर्षको चाडपर्वमा नौँ करोड बढीको खसीबोका खरिदबिक्री भएका छन् । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका अनुसार जिल्लाका विभिन्न स्थानबाट मासुका लागि जिल्लाबाहिर जिउँदो खसीबोकाको निर्यात बढेको हो ।
पाल्पाको पूर्वखोला, रम्भा, निस्दी, माथागढी, तानसेन, तिनाउ रैनादेवीछहरा र रिव्दीकोट, रामपुरबाट दसैँअघि मासुका लागि खसीबोका निर्यात हुनेगरेका छन् ।
गतबर्ष पनि पाल्पाबाट १९ करोड बढी मूल्य पर्ने खसीबोका निर्यात भएको थियो ।
अन्य व्यक्तिगत फर्म तथा समूहबाट तीन करोड बढीको खसीबोका निर्यात भएको बताइएको छ । पछिल्लो केहीँ दिनयता दसैँ र तिहार पर्वका लागि भनेर जिउँदो खसीबोका निर्यात हुने गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।
यस्तै जुम्लाबाट पनि यस वर्षको दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ ।
जिल्लाको सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको बताइएको छ ।
यस्तै १५ करोड २३ लाख २३ हजार रुपैयाँका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् ।
विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् ।







