काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले ‘अ सिम्पोसिजम अन एसेट रिकन्ट्रक्सन बिजनेस’ विषयक उच्चस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुकोे खराब कर्जा, गैर बैंकिङ सम्पत्तिमा भएको निरन्तरको वृद्धि, यसबाट सृजित गम्भीर चुनौती र समाधानको विकल्प खोज्नका लागि उक्त छलफलको आयोजना गरिएको सिबिफिनले जनाएको छ ।

सिबिफिनले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु र सरोकारवालाहरुलाई सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाली बैंकिङ क्षेत्र पारदर्शि, गतिशील, सुशासित, जिम्मेवार र संवेदनशील क्षेत्र भएको, अप्ठेरो परिस्थितिलाई समेत सामना गर्दै अगाडि बढिरहेको भएतापनि कर्जा र गैरबैंकिङ सम्पत्तिमा भएको वृद्धिले निम्त्याउन सक्ने संभावित संकट र जोखिमलाई समयमै आंकलन र मूल्याङ्कन गरी अगाडि बढ्नका लागि सिबिफिनले यो विषयमा अग्रसरता लिएको सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले बताए ।

उनले कोभिड १९ पछि बैंक तथा वित्तीय संस्थाहरुको निरन्तर रुपमा बढ्दै गएको निष्क्रिय कर्जा र गैर बैंकिङ सम्पत्तिको समुचित व्यवस्थापनका लागि उपयुक्त संस्था स्थापनाका विषयमा सिबिफिनले निरन्तर रुपमा विषय उठान गर्दै आएको पनि उनले स्पष्ट पारे ।

यस्तै उनले सम्पति व्यवस्थापन कम्पनीको स्थापनाको विषयमा नीतिगत रुपमा परिकल्पना गरिए तापनि कुनै सार्थक पहल नभइरहेको विषयलाई मध्यनजर गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंकले सम्पत्र् व्यवस्थापन कम्पनीको स्थापनार्थ चालेका कदमहरुलाई सार्थकतामा पु¥याउनका लागि कार्यक्रम उपयोगी र पथपर्दशक बन्ने विश्वाससहित आयोजना गरिएको बताए ।

यसका साथै कार्यक्रममा सिबिफिनका महानिर्देशक रोशन कोइरालाले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको वर्तमान अवस्था र प्रवृतिवारे जानकारीमूलक कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा छिमेकी मित्र राष्ट्र भारतको एसेट रिकन्स्ट्रक्सन इण्डिया लि. (आरसिल) का पूर्व प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक तथा विज्ञ विनायक बहुगुणाले निष्क्रिय कर्जा गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनका विषयमा प्रचलनमा रहेका अन्तराष्ट्रिय अवधारणा, अभ्यास, पूर्व शर्तहरु, भारतमा गरिएको अभ्यास, वर्तमान अवस्था एवं परिणाम र नेपालले ध्यान दिनुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

विज्ञ बहुगुणाले सम्पत्र् व्यवस्थापन, पुनर्निर्माण कम्पनी स्थापनाको विषय महत्वपूर्ण हुँदाहुँदै पनि कतिपय अवस्थामा प्रतिकुल समेत हुने भएकोले त्यसतर्फ विशेष रुपमा सचेत हुनुपर्ने सुझाव उनले दिए ।

उक्त छलफलको दौरानमा बैंकिङ तथा व्यवसायीक क्षेत्रमा लामो र गहिरो अनुभव हासिल गरेका सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार दे र बैंकिङ क्षेत्रमा विशेष दक्षता राख्ने  वरिष्ठ चाटर्ड एकाउन्टटेन्ट प्रभुराम भण्डारीकोवीचमा एसेट रिकन्ट्रक्सन कम्पनीको आवश्यकता, औचित्य, जटिलता र संभावित कार्यदिशा विषयमा वृहत प्यानल छलफल गरिएको थियो ।