काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने, कुलमान घिसिङ, दुर्गा प्रसाईँ, बालेन शाहलगायतलाई ‘पपुलिस्ट’ को संज्ञा दिएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवि, बालेन, कुलमानलगायतले सामाजिक सञ्जालमार्फत अराजकता मच्चाइरहेको बताएका हुन् ।
यिनै पुपुलिस्टहरुको कारण गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेतलगायतका नेताहरु चुनावमा पराजित हुने अवस्था बनेको उनले स्मरण गरे । अहिले यिनै पपुलिस्ट शक्तिहरुले कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाशलगायतका नेताहरुमाथि आक्रमण गरिरहेको नेता बस्नेतको आरोप छ । पुराना दलहरु काम नलाग्ने भए भनेर आरोप लगाउँदै उदय भएका पपुलिस्ट शक्तिहरु अहिले काम नलाग्ने प्रमाणित भइसकेको उनले दाबी गरे ।
साथै, नेता बस्नेतले रास्वपाका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ‘सहकारी पर्यटक ठग’ को संज्ञा दिए । ६७ करोडमात्रै नभएर लामिछानेले डेढ अर्बभन्दा बढी हिनामिना गरेको उनको आरोप छ । साथै, उनले कांग्रेस उपसभापति धनराज गुरुङको सम्बन्धविच्छेद प्रकरणबारे पनि छानविन भइरहेको बताए । उनले वर्तमान सरकारले धनराजलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको बताउँदै भ्रष्टाचारीहरु कसैले पनि उन्मुक्ति नपाउने बताए ।
सबै सहकारी ठगहरुलाई अनुसन्धानको दायरामा ल्याउन र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार प्रतिवद्ध रहेको उनले बताए ।
त्यस्तै, साइबर अपराधमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नियन्त्रणमा रहेका मेडिकल व्यसायी दुर्गा प्रसाईलाई उनाले ‘अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादी’ को संज्ञा दिए । आफूहरुले प्रसाईँको अराजकताबारे पटक–पटक बोल्दै प्रहरीले धेरै गम्भीरतापूर्वक नलिएको बताए । प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएर आगामी मंसिर ७ गतेको कार्यक्रमलाई हिंश्रक बनाउन खोजेको नेता बस्नेतको आरोप छ ।
साथै, प्रसाईँले योजना बनाएर आफ्ना डिफेन्सर प्रयोग गरी अभियन्ता पुण्य गौतमको हत्या गराउने नियतले आक्रमण गराएको उनको आरोप छ । प्रसाईँले उनको विरुद्ध फरक मत राख्ने गभर्नरदेखि प्रहरी अधिकारीसम्मलाई भारतीय नम्बर प्रयोग गरेर धम्क्याएको नेता बस्नेतले बताए ।
नेता बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘लोकप्रियताको जगमा आफूलाई भ्रष्ट छवि बनाइरहेका व्यक्ति’ को रुपमा चित्रण गरे । पाटन उच्च अदालतले कुलमानले २ अर्ब १५ करोड उहाँको ठेक्का प्रक्रिया अनियमित गरेको भनी फैसला गरिसकेको उनको दाबी छ । कुलमान प्राधिकरणको एमडी भएदेखि नै उनका दाजुभाइ संलग्न भएका कम्पनीले मात्रै प्राधिकरणका ठेक्का पाइरहेको उनको आरोप छ ।
विद्युत प्राधिकरणमा कार्यरत तलका हाकिमहरुलाई तार किन्ने, विद्युतको पोल गाड्ने र मर्मत गनेसम्मका अधिकार भएपनि कुलमानले केन्द्रीकृत गरेर सामुहिक रुपमा ठेक्का गरिरहेको नेता बस्नेतको आरोप छ । कुलमानको एक जना भाइले लामा कन्स्ट्रक्सनको ३० प्रतिशत शेयर किनेर साँगादेखि बनेपासम्मको ठेक्का लिएको नेता बस्नेतले बताए ।
कुलमानले ठेक्का प्रक्रियाका लागि ३५ वटा भन्दा बढी कम्पनी दर्ता गरेको, सोसल मिडिया र युट्युवहरुलाई आफ्नो पक्षमा परिचालन गरेको र आफ्नो दम्भको कुनै सीमा नै नराखी अराजकता मच्चाएको उनको आरोप छ । कुलमानको यी विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिको विषय बनिसकेको उनले बताए । उनले कुलमान भ्रष्टाचारमा रमाइरहेको टिप्पणी गरे ।
साथै, डेडिकेटेड टंङ्क लाईनको बक्यौता विवादका सन्दर्भमा लाल आयोगको प्रतिवेदनअनुसार अगाडि बढ्नुपर्ने उनले बताए । त्यस्तै, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई उनले ‘तोडफोडका नेता’ को संज्ञा दिए । उनले बालेन पनि विभिन्न भ्रष्टाचारमा संलग्न रहेको आरोपलगाए ।
बालेनको दम्भ, घमण्ड निकै बढिरहेको, आफ्ना निश्चित व्यक्तिहरुलाई लाभ हुने काम गरिरहेको, काठमाडौं प्लाजादेखि लिएर धेरै ठाउँमा अनियमितताको कुरा उठिरहेको, ध्वंसबाहेक निर्माणका काम केही नरेको उनले बताए ।






