काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ ।
उक्त जरिवाना तिराउनेभएसंगै नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन् ।
दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा महानगरपालिकाले कारबाही गरेको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौँ महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आरोप लगाएका हुन् ।
नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै लेखेका छन्– बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ। यसलाई दुई एङ्गलबाट हेर्न सकिन्छ।
सकारात्मकः काठमाडौँमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो जस कारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई १ लाख भिख माग्न पर्यो ।
नकारात्मक :बालेनलाई यति धेरै एमाले फोबिया छ कि कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रमण बाट मर्छ भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघलेले होइन किताबमा भएको बाघको चित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसँग डराएर सकिने अवस्थामा पुगेको छ।






