काठमाडौं । नेपाल राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब ७ अर्ब ८७ करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांकअनुसार राष्ट्र बैंकको पछिल्लो ५ महिनामा सञ्चित रकम ६४ अर्ब ५ करोड ३३ लाख रुपैयाँले बढेको हो ।
गत असारको अन्त्यसम्ममा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा रहेको थियो ।
यस्तै वित्तीय क्षेत्रभन्दा बाहिर सवा ७ खर्ब बढी रकम चलनचल्तीमा रहेको पनि बैंकले जनाएको छ । चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) ७ खर्ब ३० अर्ब २८ करोड रहेको बैंकको तथ्यांकले देखाएको छ ।
बैंकका अनुसार पछिल्लो ५ महिनामा यस्तो चलनचल्तीमा रहेको रकम ५० अर्ब २३ करोड २९ लाख रुपैयाँले बढेकोे छ । गत असार मसान्तसम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेको थियो ।
गत कात्तिकको तुलनामा भने चलनचल्तीमा रहेको रकम १५ अर्बले घटेको छ । कात्तिकसम्म चलनचल्तीमा रहेको रकम ७ खर्ब ४५ अर्ब ९१ करोड थियो ।
असोज, कात्तिकको समयमा यसबीचमा दसैं, तिहार, छठ लगायतका चाडपर्व परेकाले चाडबाड खर्चको लागि वित्तीय प्रणालीबाट ठूलो रकम बाहिरिंदा चलनचल्तीका मुद्रा बढेको थियो ।
मंसिरमा विस्तारै सो रकम वित्तीय प्रणालीमा आउन थालेको देखिन्छ ।







