काठमाडौं । दुईवटा पुनर्बीमा कम्पनी ले बिभिन्न क्षेत्रमा ४० अर्ब बढीको लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार यी दुवै पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा ४० अर्ब ६३ करोड ६२ लाख रुपैयाँ लगानी गरेका नछन् ।

जसमध्ये स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले २१ अर्ब १० करोड ७८ लाख रुपैयाँ र निजी क्षेत्रको हिमालयन रि इन्स्योरेन्सले १९ अर्ब ५२ करोड ४८ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।

दुवै पुनर्बीमा कम्पनीको लगानीको ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा छ । जसमा नेपाल रिको कुल १८ अर्ब ४ करोड २० लाख रुपैयाँ अर्थात लगानीको करिब ८५.५ प्रतिशत रकम बैंकहरुको मुद्दतिमा छ ।

यस्तै हिमालयन रिले मुद्दति निक्षेपमा १३ अर्ब ५५ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ। जुन कुल लगानीको करिब ६९.५ प्रतिशत हो ।

नेपाल रिले सरकारी बचतपत्र र ऋणपत्रमा ३० करोड रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ करोड ५९ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ५९ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा १५ करोड रुपैयाँ लगानी गरेको छ।

यसैगरी हिमालयन रिले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ३ अर्ब ६५ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७५ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा ९० करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा ३७ करोड ९७ लाख रुपैयाँ र अन्य क्षेत्रमा ६० करोड रुपैयाँ लगानी गरेको छ।