काठमाडौं । देशै भरी माघ महिनामा ४३ हजार १४० वटा घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले उल्लेख गरेको छ । उक्त अवधिमा सबैभन्दा धेरै घरजग्गाको कारोबार मोरङ जिल्लामा भएको छ । पुस महिनामा देशै भरी ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित भएको थियो ।
माघ महिनामा मोरङ जिल्लाका ३ वटा मालपोत कार्यालयमार्फत सबैभन्दा धेरै २८१६ वटा घरजग्गाको कारोबार भएको छ भने सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा ५र५ वटा कारोबार भएको छ । माघ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट सबैभन्दा धेरै अर्थात् १७०४ वटा कारोबार भएको छ भने मालपोत कार्यालय बाणगंगा, बोडगाउँ कपिलवस्तुमा शुन्य कारोबार भएको तथ्यांकमा उल्लेख छ ।
घरजग्गा कारोबारबाट माघ महिनामा सरकारले १ अर्ब ४५ करोड ५५ लाख ८८ हजार २०९ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । यो अघिल्लो महिनाको तुलनामा झण्डै १५ करोडले कमी हो । माघ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ कुल राजस्व आम्दानी गरेको छ । पुसमा सरकारले घरजग्गा कारोबारमार्फत ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७८९ रुपैयाँ राजस्व र १ अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।
सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा १ अर्ब ३४ करोड ६९ लाख र क्रमशः भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख, असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख र मंसिर महिनामा १ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।
घरजग्गा कारोबार सुस्ताउनुको कारण
नेपाल घरजग्गा तथा आवासीय विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले घरजग्गा कारोबार घटाउन वा बढाउन बैंक तथा वित्तीय संस्थाहरूले दिने कर्जाको महत्त्वपूर्ण भूमिका र सस्तो ब्याजदरमा सहजै कर्जा प्रवाह हुन थाले कारोबार बढ्न जाने उल्लेख गरेका छन् ।
पछिल्लो समय बैंकको ब्याजदर एकल बिन्दूमा आएको र बैंकमा फालाफाल तरलता रहँदा समेत घरजग्गा बढ्न नसक्नु दुखद भएको उनको भनाई छ । आर्थिक मन्दीको प्रभाव कायम भएको कारण त्यसको असर घरजग्गा कारोबारका समेत देखिएको उनको भनाई छ ।
पछिल्लो समय कित्ताकाट पनि बढ्दै गइरहेको छ। कित्ताकाट फुकुवा भएपछि घरजग्गा कारोबार बढ्ने र थलिएको अर्थतन्त्र पनि चलायमान हुने सरकारको अपेक्षा थियो । तर, अपेक्षा अनुरूप कारोबार बढ्न सकिरहेको छैन। तैपनि पछिल्लो समयमा बढ्दै गइरहेको कित्ताकाट र कारोबारले रियल इस्टेट लयमा फर्किने शंकेत देखाएको उनको भनाई छ ।
मुलुकमा कोभिडको संक्रमण फैलिएसँगै अर्थतन्त्र ठप्प जस्तै बन्यो त्यसयता थलिएको घर जग्गा कारोबारले अझै गति लिन सकेको छैन। सरकारले घरजग्गा कारोबार बढाउन बजेटमार्फत जग्गाको कित्ताकाट खुलायो। तर, अपेक्षाकृत कारोबारमा सुधार भएन। किनकि उचित नियमन हुन नसक्दा आशा गरे अनुसारको रिजल्ट आउन सकेको छैन।
चालु वर्षमा केही सुधार देखिए पनि कैयौँ नीतिगत र व्यावहारिक कठिनाइका कारण यो व्यवसायले गति लिन नसकेको लोहनीको भनाई छ । सरकारलाई बुझाइएको अध्ययन प्रतिवेदनले पनि घर जग्गा कारोबारमा नीतिगत सुधारका लागि सुझाव दिइएको र त्यसमा सरकार थप गम्भीर हुन आवश्यक रहेको उनको भनाई छ ।
स्पष्ट कानुनी व्यवस्थाको अभाव , योजना अनुमति प्रक्रिया झन्झटिलो , बिचौलियाको हालीमुहाली , अस्वाभाविक महँगो र प्रभावकारी नियमन हुन नसकेको कारण घरजग्गा कारोबारमा अझैसम्म कठिनाइ रहेको उनको भनाई छ ।