काठमाडौँ । साताको दोस्रो कारोबारका दिन पनि शेयर बजारको बढोत्तरीले निरन्तरता पाएको छ । समग्रमा सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको कारण निरन्तर रूपमा उचाइ लिइरहेको छ। सोमबार नेप्से सूचक ३.३५ विन्दुले बढेर २७५८.७५ अंकमा आएको छ ।
बजार बढेसँगै आज ११ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। भने एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ र ४ वटा समूहका सूचक सकारात्मक बनेका छन्।
साथै, दैनिक कारोबार रकम औसतमा बढ्दै गएको छ । सेयर बजारले लामो समयको गिरावट र साइडवेजलाई चिरेर अगाडि बढेको छ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले महत्त्वपूर्ण भूमिका खेल्छ । लगानीकर्ताको आत्मबल बढ्दै गएको देखिएको छ।
आज ९० कम्पनीको मूल्य बढ्दा १४५ को घटेको छ । साथै, ९ कम्पनीको भने स्थिर रहेको छ। आज लगानी ०.९८, उत्पादन ०.९७ र बैंकिङ ०.०९ प्रतिशतले बढोत्तरी आएको छ ।
त्यस्तै,फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशतले घटेको छ विकास बैंक ०.०९, होटल तथा पर्यटन ०.८७, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.९२, माइक्रो फाइनान्स ०.६३, निर्जीवन बीमा ०.७४ र व्यापार ०.२६ प्रतिशतले गिरावट आएको हो ।
यतिबेला केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यसै साता समीक्षा सार्वजनिक हुने भएको कारण आम लगानीकर्तामा थप नीतिगत लचकता आउने अपेक्षा देखिएको छ ।
सबल वित्तीय सूचक भएका अर्थात् फन्डामेन्टल कम्पनीतिर लगानीकर्ता सिफ्ट हुन थालेका छन् । पुँजी बजारको दिगो सुधारका लागि यो महत्त्वपूर्ण कुरा हो । नेप्सेले नयाँ उचाइ चुम्नका लागि लार्ज क्यापका कम्पनीहरू चल्नुपर्ने जानकारहरूको धारणा छ ।






