काठमाडौँ । नेपालको हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको निर्यातमा उल्लेख प्रगति भएको छ । चालु आर्थिक वर्षको नौ महिना अवधि सम्ममा नेपालले विभिन्न १० वटा देशहरूमा २० करोड २८ लाख ७८ हजार बराबरको यार्सागुम्बा निर्यात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालले यस अवधिमा सबैभन्दा बढी हंङकंङमा यार्सागुम्बा निर्यात रहेको छ । उक्त देशमा नौ महिनाको अवधिमा नेपालले १० करोड ३४ लाख ७१ हजार मूल्य बराबरको १ सय ६४ केजी निर्यात गरेको हो ।
साथै, कम्बोडियामा १ करोड १३ लाख १८ हजार मूल्य बराबरको ५९ केजी निर्यात गर्दा चीनमा ३ करोड ८४ लाख ३९ हजार मूल्य बराबरको १ सय ४४ केजी निर्यात गरेको हो ।विभागका अनुसार जापानमा ४ लाख ५ हजार रुपैयाँ, मलेसियामा ३५ लाख ९८ हजार, सिङ्गापुर १ करोड ८८ लाख ४१ हजार मूल्य बराबरको १ सय ६४ केजि बराबरको यार्सागुम्बा निर्यात गरेको हो ।
त्यस्तै यार्सागुम्बा निर्यात गरेका देशहरूमा थाइल्याण्डमा ६ हजार मूल्यको निर्यात गर्दा बेलायतमा ५९ लाख ३१ हजार, अमेरिकामा १ करोड १ लाख ९० हजार, र भेतनाममा १ करोड ६ लाख ८० हजार मूल्य बराबरको यार्सागुम्बा निर्यात गरेको भन्सार विभागले जनाएको छ ।
यार्सागुम्बा समुन्द्र सतहबाट ३ हजार मिटर देखी ६ हजार मिटर सम्मको उचाइमा पाइने बहुमूल्य जडीबुटी हो । यार्सागुम्बा महँगो तथा शक्ति वर्द्धक जडीबुटी को रूपमा मानिन्छ । हिमाली भेगमा पाइने यो जडीबुटी महँगो भएकै कारण सिजनमा टिप्ने स्थानीयहरूको तँछाडमछाड भएको देख्न पाइन्छ ।







