काठमाडौँ। मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि अनुमति बिना पाटन क्षेत्रमा प्रवेश गर्न खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न यार्सा पाटनतर्फ जाँदै गरेका जुम्लाको पातारासी गाउँपालिका वडा न. १ र २ का एक बालिकासहित २४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको हो।

प्रहरी नायव उपरीक्षक रविराज थपलियाले अनुमति बिना वन तथा पाटन क्षेत्रमा प्रवेश गर्नेहरूलाई नियन्त्रणमा लिइएको बताए। थपलियाका अनुसार यसअघि पनि विभिन्न प्रहरी चौकीसँगको समन्वयमा यार्सा चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी सम्बन्धित स्थानमा फर्काउने गरिएको थियो।

हालसम्म मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा संकलन खुलाउनेबारे कुनै आधिकारिक सूचना जारी गरेको छैन। यस वर्ष पक्राउ परेकाहरूलाई भने नियन्त्रणमा राखेर बयान लिने तथा हाजिरी जमानीमा छोड्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

यार्सागुम्बा संकलनको समय नजिकिँदै जाँदा मुगुका यार्सा पाटन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गाउँपालिकाले पनि आधिकारिक रूपमा पाटन नखुल्दै चोरी वा अवैध रूपमा वन क्षेत्रमा प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरिसकेको छ।

मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य यार्सागुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालिकोट, अछामलगायत जिल्लाका साथै भारतबाट समेत सङ्कलक तथा व्यापारीहरू पुग्ने गर्दछन्।

दुर्गम हिमाली भेगका स्थानीयका लागि यार्सागुम्बा प्रमुख आम्दानीको स्रोत मानिन्छ। धेरै परिवारले वर्षभरिको घरखर्च यार्सा बिक्रीबाट जुटाउने गरेका छन्।