काठमाडौँ । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि पाउने दाबी गरेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुई वटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्ने सम्बन्धी सम्झौता भएको छ ।

संयुक्त निर्देशक समिति (जेएसी ) को १२औँ बैठकमा निर्णय भएको र त्यही निर्णय कार्यान्वयन गर्न हालै नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पाेरेसन अफ इन्डिया लिमिटेडबीच संयुक्त कम्पनी स्थापनासम्बन्धी ‘ज्वाइन्ट भेन्चर’ र ‘सेयरहोल्डर्स एग्रिमेण्ट’ हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता बमोजिम यी दुवै प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सेयर क्रमशः ५१ प्रतिशत रहने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिनुभयो ।

त्यस्तै भारतीय खण्डमा निर्माण हुने प्रसारण लाइनमा पनि प्राधिकरणको हिस्सा ४९% रहनेछ । प्राधिकरणले अहिलेसम्म ११ हजार ४ सय ३३ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता गरेको छ । जम्मा १२ हजार ६ सय ४६ मेगावाट बराबरको विद्युत् खरिदबिक्रीका लागि आवेदन प्राप्त भएकामध्ये पाँच हजार २ सय ३० मेगावाट क्षमताको ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको छ ।