काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा भित्रिने स्मार्टफोनको आपूर्तिमा चीनको वर्चस्व झनै मजबुत बन्दै गएको देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ ओटा स्मार्टफोन आयात भएका छन्, जुन कुल आयातको ८५.१३ प्रतिशत हिस्सा हो।
गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएका थिए, जुन कुल आयातको ७७.५० प्रतिशत मात्र थियो। यसरी एक वर्षमै चिनियाँ स्मार्टफोनको हिस्सा करिब ८ प्रतिशत बिन्दुले बढेको छ।समग्र आयातको परिमाण पनि उल्लेखनीय रूपमा बढेको छ।
गत आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले कुल १२ लाख २९ हजार ९५७ ओटा स्मार्टफोन आयात गरेको थियो। तर चालू आर्थिक वर्षको सोही अवधिमा कुल आयात संख्या १४ लाख १४ हजार नाघेको छ। अर्थात् एक वर्षको अन्तरालमा करिब २ लाख थप स्मार्टफोन नेपाल भित्रिएका छन्।
विश्व बजारमा पछिल्ला वर्षहरूमा भारत समेत स्मार्टफोन उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। Xiaomi, Vivo, Oppo, Honor र Realme जस्ता चिनियाँ ब्रान्डका साथै अमेरिकी Apple तथा दक्षिण कोरियाली Samsung का केही मोडेलहरू भारतमै एसेम्बल हुँदै आएका छन्। यद्यपि, त्यस्ता उत्पादनहरू नेपालमा भारतमार्फत आयात हुने प्रवृत्ति भने घट्दो देखिएको छ।
गत आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट २ लाख ७२ हजार ६६ ओटा स्मार्टफोन नेपाल भित्रिएका थिए। तर चालू आर्थिक वर्षको सोही अवधिमा यो संख्या घटेर २ लाख ४ हजार ६५८ ओटामा सीमित भएको छ, जुन कुल आयातको १४.४६ प्रतिशत मात्र हो। विगतमा भियतनाम पनि नेपालका लागि स्मार्टफोन आपूर्तिको एक प्रमुख स्रोत रहँदै आएको थियो। तर पछिल्ला वर्षहरूमा त्यहाँबाट हुने आयात क्रमशः घट्दै गएको देखिन्छ।
यता भारत सरकारले चालू आर्थिक वर्ष २०२६/२७ को बजेटमार्फत इलेक्ट्रोनिक्स उत्पादन प्रवर्द्धनका लागि बजेट वृद्धि गर्दै “मेक इन इन्डिया” रणनीतिलाई थप सुदृढ बनाउने प्रयास गरेको छ। तर त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा हालसम्म स्पष्ट रूपमा देखिएको छैन। बरु बजारमा चिनियाँ उत्पादनको पकड झनै बलियो बन्दै गएको तथ्यांकले स्पष्ट गरेको छ ।







