काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायो साग उपभोगका लागि असुरक्षित देखिएको छ ।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले मङ्गलबार गरेको परीक्षणमा १३ वटा नमुनामध्ये एक नमुनामा विषादीको मात्रा मापदण्डभन्दा बढी भेटिएको हो ।

प्रयोगशालाका अनुसार सुनिता श्रेष्ठद्वारा बिक्रीका लागि ल्याइएको उक्त रायो सागमा अर्गानोफोस्फेट समूहको विषादी अवशेष ५५.७२ प्रतिशत पाइएको छ । सरकारी मापदण्डअनुसार ४५ प्रतिशतभन्दा माथि विषादी भेटिएमा त्यस्ता तरकारी तथा फलफूल उपभोग गर्न नहुने र नष्ट गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार उक्त रायो साग नष्ट गर्न निर्देशन दिइएको छ ।

त्यही दिन परीक्षण गरिएका अन्य फलफूल तथा तरकारीहरू भने सुरक्षित पाइएको प्रयोगशालाले जनाएको छ । परीक्षणमा सुनसरीको खरबुजा, भारतको मेवा, नवलपरासीको खरबुजा, चीनको स्याउ, धादिङको तितो करेला, मकवानपुरको बन्दागोभी, नुवाकोटको गोलभेँडा र खुर्सानी, काठमाडौँको काँक्रो, चितवनको भान्टा, काभ्रेको भेँडे खुर्सानी र दोलखाको रायो साग (अर्को नमुना) समावेश थिए । यी सबैमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भेटिएकाले उपभोगयोग्य रहेको पुष्टि गरिएको छ ।

सरकारी नियमअनुसार ३५ प्रतिशतभन्दा कम भए उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने व्यवस्था रहेको छ ।

उक्त परीक्षण कार्बामेट र अर्गानोफोस्फेट समूहका कीटनाशक विषादीमा आधारित रहेको प्रयोगशालाले स्पष्ट पारेको छ ।