काठमाडौँ । चालू आर्थिक वर्ष २०८०-८१ को चार महिनाको अवधिमा नेपालमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको हो । यस्तै, यस अवधिमा ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात भएको छ । जबकि, गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट ५४ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

यस्तै, गत आर्थिक वर्षको चार महिनामा ५ खर्ब ३२ अर्ब रुपैयाँको आयात भएको थियो । यस अवधिमा नेपालको व्यापार घाटा ४ खर्ब ६१ अर्ब रुपैयाँ छ ।

गत आर्थिक वर्षको कात्तिकसम्ममा ४ खर्ब ७७ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो । यसै गरी, कात्तिक महिनासम्मको अवधिमा ५ खर्ब ६३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।