काठमाडौँ । चालु आर्थिक वर्ष चालु २०८१/८२ को ९ महिनामा आयात निर्यात दुवै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार २०८१र८२ को चैत मसान्तसम्म १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु व्यापार भएको छ ।

अघिल्लो वर्ष २०८०/८१ को सोही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । आयात निर्यात बढे पनि गत वर्षको  तुलनामा देशको व्यापार घाटा भने बढेको हो ।

गत वर्षको तुलनामा चालु वर्षमा १६.८९ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ । यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, भने १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँको आयात भएको थियो, भने १ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको थियो ।

गत वर्षको तुलनामा चालु वर्षमा आयात १२.१८ प्रतिशतले वृद्धि भएको देखिन्छ भने निर्यात ६५ प्रतिशतले वृद्धि भएको देखिन्छ । विभागका अनुसार यस वर्षको पहिलो ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो । व्यापार घाटा ६.४५ प्रतिशतले वृद्धि भएको हो । साथै, कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेर १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

९ महिनाको अवधिमा निर्याततर्फ भने उत्साहजनक सुधार देखिएको छ। नेपालले ९ महिनामा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँमा सीमित थियो।

यो वृद्धिदर ६५.१६ प्रतिशत हो । निर्यातको अनुपात कुल व्यापारमा १२.५७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८.८९ प्रतिशतको तुलनामा ४१.३० प्रतिशतले वृद्धि भएको हो । विभागका अनुसार नेपालले सबैभन्दा बढी डिजेल ९१ अर्ब २६ करोड, कच्चा सोयाबिन तेल ६६ अर्ब ०५ करोड, पेट्रोल ४७ अर्ब ७७ करोड र एलपी ग्यास ४६ अर्ब ५८ करोड रुपैयाँ बढीको आयात गरेको देखिन्छ ।

त्यस्तै, नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा सोयाबिन तेल रहेको छ । सोयाबिन तेल ६२ अर्ब ७८ करोड रुपैयाँ बढीको निर्यात भएको छ । सोयाबिन पछि सूर्यमुखी तेल ९ अर्ब २३ करोड, गलैँचा ८ अर्ब ०९ करोड र ठूलो अलैँची ६ अर्ब २६ करोड रुपैयाँ बढीको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।