गत बर्ष कम्पनीले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीको कुल बीमा शुल्क आम्दानी पहिलो पटक ४ अर्ब रुपैयाँ नाघ्न सफल भयो, जहाँ समग्र निर्जीवन बीमा कम्पनीहरूको वृद्धिदर करिब ८ प्रतिशत रहँदा हाम्रो कम्पनीले १३ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गर्यो।
यो उपलब्धि व्यवस्थापनको रणनीति, कार्यदक्षता र संस्थागत अनुशासनको प्रतिफल हो। यस वर्ष व्यवस्थापनको प्रमुख प्राथमिकता अपरेसनल ट्रान्सफर्मेसन रह्यो।
यसअन्तर्गत हामीले प्रमुख व्यवसायिक प्रक्रियाहरू, कार्यसम्पादन मापन प्रणाली तथा संगठनात्मक अभ्यासहरू व्यवस्थित रूपमा सुधार गरी पूरा गर्यौँ।
हाम्रो उद्देश्य परिवर्तन मात्र होइन, अनुशासित,सक्षम र गुणस्तरीय सेवा सुनिश्चित गर्ने प्रणाली विकास गर्नु थियो, जसले दीर्घकालीन रूपमा कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाओस्।
नेपालमा लामो समयदेखि कायम रहेको न्यून ब्याजदरको कारणले लगानी प्रतिफलमा चुनौती सिर्जना गर्यो। यसको परिणामस्वरूप बचत लगानी प्रतिफल अघिल्लो वर्षको तुलनामा केही घट्न गएको देखियो।
यस अवस्थालाई व्यवस्थापन गर्न हामीले विवेकपूर्ण सम्पत्ति विनियोजन, पोर्टफोलियोको नियमित समीक्षा तथा जोखिम व्यवस्थापन संरचनालाई थप सुदृढ गर्ने रणनीति अपनायौँ।
यसै क्रममा own risk and solvency assessment (ORSA) परियोजनामा उल्लेखनीय प्रगति भएको छ, जसले कम्पनीको जोखिम व्यवस्थापन र solvency योजनालाई अझ बलियो बनाएको छ।
विशेष रूपमा उल्लेख गर्नुपर्ने कुरा के छ भने ठूला बाढीका घटनाका क्रममा करिब ६० करोड रुपैयाँ बराबरको दाबी परेको छ। ४५ करोड रुपैयाँको सफल भुक्तानी गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो वित्तीय सुदृढता र बीमितप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रदर्शन गरेको छ।
यस्ता भुक्तानीहरू कम्पनीको वित्तीय स्थायित्व कायम गर्दै सम्पन्न हुनु हाम्रो बीमितप्रतिको जिम्मेवारी र विश्वसनीयताको प्रमाण हो।
हाम्रो सबैभन्दा ठूलो शक्ति भनेकै मानव संसाधन हो। यस वर्ष हामीले कर्मचारी क्षमता विकास, व्यक्तित्व विकास, प्राविधिक तथा व्यवसायिक तालिममा निरन्तर लगानी गरेका छौँ। संगठनभित्र सहकार्य र एकताको भावना बलियो बनाइएको छ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पनि पूरा गर्दै आएको छ। यस वर्ष रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, बीमा साक्षरता कार्यक्रम तथा दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा सहयोगजस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरू सञ्चालन गरिएका छन्।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न
आगामी दिनहरूमा आर्थिक तथा बजारगत अनिश्चितता रहे पनि व्यवस्थापन कम्पनीको दिशाप्रति पूर्ण रूपमा आशावादी छ। सुदृढ शासन व्यवस्था, सुधार हुँदै गएको सञ्चालन क्षमता, विवेकपूर्ण लगानी व्यवस्थापन, सक्षम मानव संसाधन र बढ्दो ग्राहक विश्वासको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स स्थिर र दीर्घकालीन मूल्य सिर्जना गर्न सक्षम अवस्थामा रहेको छ।
अन्त्यमा, अध्यक्षज्यू तथा सञ्चालक समिति सदस्यज्यूहरूको मार्गदर्शन र समर्पण, सेयरधनीज्यूहरूको विश्वास, नियामक निकायको सहकार्य तथा सम्पूर्ण कर्मचारी साथीहरूको निरन्तर योगदानप्रति म हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु।
हामी सबैको सामूहिक प्रयासबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई अझ सक्षम, विश्वसनीय र भविष्यका लागि तयार संस्था बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु।
(हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औँ वार्षिक साधारण सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले राख्नुभएको धारणा)







