काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही सूचक सकारात्मक भए पनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था नरहेको बताएका छन् ।
अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मङ्गलवार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने सङ्कट गहिरिन सक्छ भन्ने सोचका साथ कदम चाल्दै आएको बताए ।
सहकारी, लघुवित्त क्षेत्रमा देखिएको सङ्कट समाधानको उपाय खोज्नुपर्ने उनले बताए। प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिजना गर्न खोजेका छन् । त्यस्तो अराजकतालाई छुट दिन सकिँदैन ।’
अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए । तर यसलाई देखाएर एक थरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उनले बताए।
अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरू, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरू समस्या समाधान गर्न एक ठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।’